दशैँ सुरु हुनै लाग्दा पनि देशका पाँच सडक खण्ड अझै खुल्न सकेनन्

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १४

 काठमाडौं । दशैँ सुरु हुनै लाग्दा बाढी पहिरोका कारण बन्द भएका देशभरका पाँच सडक खण्ड अझै खुल्न सकेका छैनन् । ठोरी–भण्डारा–मलेखु गल्छी, त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक खण्ड  लामो समयदेखि बन्द छ ।

गएको असार एक गतेदेखि नै बन्द भएको यो सडक खण्डकाे मर्मतको काम भइरहेको इञ्जिनियर सन्तराम पाण्डेले जानकारी दिनुभयो । अबको एक हप्ताभित्रमा यो सडक खण्ड सञ्चालमा आउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, यो महिना लागेपछि बन्द भएको सुर्खेत–दैलेख महाबुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्रा सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

जुम्लाको बोतामा पहिरो गएपछि गएको सोमवारदेखि यो सडक खण्ड बन्द छ। यस्तै बझाङको खोड्पे–चैनपुर सडक खण्ड पनि लामो समयदेखि बन्द छ । यो सडक खण्ड पनि मर्मतको पहल भइरहेको सडक विभागले जनाएको छ ।

यस्तै डुम्रे-बेसीसहर–चामे सडक खण्ड पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन। यो सडक खण्ड अन्तर्गत मनाङको धारापानी र बगरछापमा मर्स्याङ्दी नदीले कटान गरेपछि सडक बन्द भएको हो ।

दुई ठाउँमा नदीले कटान गरेकाले दुई ठाउँमा नै  सडक  खुलाउन समस्या भएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिनुभयो। यो सडक खण्ड दशैँसम्ममा सञ्चालनमा आउने सम्भावना छैन ।

दशैँसम्ममा समेत सञ्चालनमा आउन नसक्ने भएपछि यो सडक खण्ड भएर आवतजावत गर्ने यात्रु भने समस्यामा परेका छन् । खाद्यान्न ढुवानीदेखि आवतजावतमा समेत समस्या भएको छ।

दशैँमा यात्रा गर्ने यात्रुको आवतजावत सहज पार्नका लागि र कुनै कारणले सडक बन्द भएमा आधा घण्टाभित्र खोल्ने गरी जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको पनि विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *