भोजपुर । दसैँअघि घरका भित्तामा माटो र कमेरो लगाएर सिँगार्ने भोजपुरको पुरानो चलन पछिल्लो समय हराउँदै गएको छ। बजारमा पाइने चुन र आधुनिक रङको प्रयोग बढेपछि पुस्तौँदेखि चल्दै आएको यो परम्परा ओझेलमा पर्न थालेको हो।
पहिले गाउँघरमा दसैँको तयारीसँगै खोला, खोल्सा र डाँडापाखाबाट सेतो, रातो, पहेँलो तथा कालो माटो ल्याएर घर पोत्ने गरिन्थ्यो। परिवारका सदस्य मिलेर घर लिपपोत गर्ने चलन अहिले भने क्रमशः घट्दै गएको छ।भोजपुर नगरपालिका–६ भङ्गेरीका स्थानीय भीमराज विष्टका अनुसार बजारमा सहजै सामग्री पाइन थालेपछि कमेरो खोज्न जाने र घरमै तयार पारेर लगाउने अभ्यास कम भएको छ।
सिमेन्टबाट बनेका पक्की घर र आधुनिक रङको प्रयोग विस्तार हुनु पनि परम्परा हराउनुको अर्को कारण बनेको छ। टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी मनमाया विष्टका अनुसार कमेरोले घर पोत्ने चलन घर सजाउने काममा मात्र सीमित थिएन, यसले गाउँको संस्कृति र पारिवारिक सहकार्यलाई समेत जोड्थ्यो।
आधुनिक सामग्रीले घर सजाउन सहज बनाए पनि पुरानो लिपपोत विधिसँग जोडिएको सीप र सांस्कृतिक पहिचान जोगाउनु चुनौती बन्दै गएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्