काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीमार्फत छपाइ थालेको हो।
ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यहाँबाट लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ। मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ।
त्यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको छ। अन्य प्रदेशले सम्झौता नगरेको अवस्थामा विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिने विभागले जनाएको छ।
नयाँ प्रणालीबाट नयाँ लाइसेन्स तथा नवीकरण प्रक्रियालाई थप छिटो र सहज बनाउँदै सेवाग्राहीलाई समयमै लाइसेन्स उपलब्ध गराउने लक्ष्य राखिएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्