काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको मिति एक साता पर सार्ने तयारी गरिएको छ ।
आज दिउँसो १ बजे बस्ने पार्टीको कार्यसम्पादन समिति बैठकमा तल्लो तहका अधिवेशनको मिति परिवर्तन गर्ने विषयमा छलफल हुने भएको छ । केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत् राखेर तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरिएको हो ।
सभापति गगन थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कांग्रेसले यसअघि आगामी बुधबार वडा अधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो । कार्यसम्पादन समितिका एक सदस्यका अनुसार वडा अधिवेशन करिब एक साता पर सार्ने तयारी गरिएको छ ।
उनका अनुसार बाढी, सडक अवरोध, पार्टीभित्र भइरहेको आन्तरिक छलफल र हरितालिका तीजका कारण वडा अधिवेशनको मिति सार्न लागिएको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कांग्रेसले पार्टी पंक्तिलाई उद्धार तथा राहतमा परिचालन गर्ने निर्णय गरेको थियो । बाढी र त्यसपछि परेको वर्षाका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसले पनि अधिवेशन प्रक्रियामा असर परेको नेताहरूको भनाइ छ ।
यस्तै, पार्टीभित्र महाधिवेशनलाई लिएर सहमतिको प्रयाससमेत जारी छ । पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग संस्थापन पक्ष संवादमा रहेको बताइएको छ ।
यसैबीच तल्लो तहको अधिवेशनको कार्यतालिका हरितालिका तीजसँग समेत जुधेको छ । यस वर्ष तीज भदौ २९ गते परेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ २७ गते गाउँ/नगर अधिवेशन तथा भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम थियो ।
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने मिति यसअघि नै तय गरिएको छ । संस्थापन पक्षले केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने गरी तयारी अघि बढाएको छ ।
यद्यपि, महाधिवेशनको मितिलाई लिएर पार्टीभित्र फरक धारणा कायमै छ । अर्को पक्षले महाधिवेशन मंसिरमा गर्ने गरी मिति प्रस्ताव गरेको छ भने यससम्बन्धी मुद्दा अदालतमा समेत विचाराधीन रहेको छ ।
संस्थापन पक्षका एक नेताका अनुसार अदालतमा विचाराधीन दुवै पुनरावलोकनका रिट फिर्ता लिएर सहमतिको वातावरण बनेमा भने केन्द्रीय महाधिवेशनको मिति केही पर सार्न सकिने सम्भावना छ ।
‘पुनरावलोकनका लागि दुवै रिट फिर्ता लिनुपर्छ । मुद्दा फिर्ता लिएपछि सहमतिको वातावरण बनाउन केन्द्रीय महाधिवेशनको मिति अलि पर सार्न पनि सकिन्छ,’ ती नेताले भने ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्