काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ ।
दुवै पक्षले भेटवार्ता भएको पुष्टि गर्दै सभापति थापा खड्काले राखेका माग सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन् । स्रोतका अनुसार भेटपछि पार्टीभित्र सहमति जुट्ने सम्भावना बढेको छ ।
खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गराएका तथा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यलाई अद्यावधिक नभएको कारण देखाएर महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने धारणा राख्दै आएका छन् । सबैलाई महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
त्यस्तै, १४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेट्नुपर्ने खड्काको माग छ । यी विषयमा सभापति थापा सकारात्मक रहेको स्रोतको भनाइ छ ।
यसैबीच सभापति थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार बिहान ११ बजे भेटवार्ता हुँदैछ । भेटमा कोइरालाले पार्टीभित्र एकता कायम गर्न अघि सारेका विभिन्न एजेन्डाबारे छलफल हुने बताइएको छ ।
कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
त्यस्तै, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै बनाउने तथा निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका समितिहरू आपसी सहमतिबाट गठन गर्ने प्रस्ताव पनि कोइरालाले अघि सारेका छन् । यी प्रस्तावमा खड्काको समेत सहमति रहेको नेताहरूले बताएका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको विवाद समाधानका लागि सभापति थापाले विभिन्न नेताहरूसँग भेटवार्ता गरिरहेको बताए । उनका अनुसार सहमतिको सम्भावना प्रबल बनेको छ ।
सभापतिले को–को नेतासँग भेटवार्ता गरे र भेटमा के–के विषयमा छलफल भयो भन्नेबारे आइतबार दिउँसो १ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ गरिने उनले बताए ।
सहमति जुटेमा भदौ २४ गतेका लागि तय गरिएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन केही समय सर्न सक्ने संकेतसमेत प्रवक्ता चालिसेले गरेका छन् । यसबारे निर्णय कार्यसम्पादन समिति बैठकबाट हुन सक्ने बताइएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्