त्रिशूली–३ ‘ए’ को सुरुङमा एक जनाको शव फेला, खोजी तथा उद्धार कार्य जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौं । दुई जनाको जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा थप एक जनाको शव फेला परेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले सुरुङभित्रबाट एउटा शव बाहिर निकालेका हुन्।

आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीको उद्धार टोलीले सुरुङबाट शव निकालेको हो। फेला परेको शवको हालसम्म पहिचान हुन सकेको छैन। शव कसको हो भन्ने यकिन गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ।

यसअघि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका दुई जनालाई जीवितै उद्धार गरेको थियो। उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ।

नेपाली सेनाका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। लामो समयसम्म सुरुङभित्र फसेपछि उद्धार गरिएका उनीहरूलाई आवश्यक स्वास्थ्य परीक्षण तथा चिकित्सकीय निगरानीमा राखिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र रहेको भूमिगत विद्युत् गृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ। तीमध्ये अधिकांश व्यक्ति भूमिगत विद्युत् गृह क्षेत्रमा रहेको हुनसक्ने अनुमान गरिएको छ।

बाढीका कारण सुरुङको प्रवेश क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्रको अवस्था, पानी तथा अन्य अवरोधका कारण उद्धार टोलीले सावधानीपूर्वक खोजी गरिरहेको छ।

यसैबीच भूमिगत विद्युत् गृह क्षेत्रमा फसेका अन्य व्यक्तिको अवस्था पत्ता लगाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत् प्राधिकरणका प्राविधिकसहितको टोलीले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ।

दुई जनाको जीवितै उद्धारपछि अन्य व्यक्तिलाई पनि सकुशल उद्धार गर्न सकिने आशा बढेको भए पनि सुरुङभित्र शव फेला परेपछि परिवार तथा आफन्तमा थप चिन्ता बढेको छ। उद्धार टोलीले सुरुङको थप क्षेत्रमा खोजी तीव्र पारिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *