श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक बस्दै, किराँती समूह अनुपस्थित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक सुनसरीको धरानस्थित होटल गोर्खामा बसिरहेको छ। पूर्वमन्त्री सुदन किराँती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा किराँती पक्ष भने सहभागी भएको छैन।

श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घलेका अनुसार बैठकले चार महिनाअघि भएको पार्टी एकताको निर्णय अनुमोदन गरेपछि किराँतीसहित उनको समूहलाई बैठकमा सहभागी गराइनेछ।

‘बाहिर आएको हल्ला हल्ला मात्रै हो। एकताको निर्णय हाम्रो केन्द्रीय समितिले गरेको थिएन। आजको बैठकले त्यो अनुमोदन गरेपछि उहाँहरूलाई बैठकमा सहभागी गराउने हो,’ घलेले भने।

चार महिनाअघि भएको पार्टी एकतापछि सुदन किराँतीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो। किराँती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना श्रम संस्कृति पार्टीमा समाहित भएका थिए।

एकताअघि २३ सदस्यीय रहेको पार्टीको केन्द्रीय समिति एकतापछि ४१ सदस्यीय बनेको थियो। पार्टी एकतापछि किराँतीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको थियो।

तर, बुधबारको केन्द्रीय समिति बैठकमा आफूहरूलाई सहभागी नगराइएको वरिष्ठ नेता किराँतीले बताएका छन्। बैठक छ भन्ने सुनेको हो, हामीलाई बोलाएको छैन,’ किराँतीले भने, ‘किन नबोलाएको हो भन्ने थाहा छैन।’

पार्टीभित्र एकता अनुमोदन र नयाँ संरचनालाई औपचारिकता दिने विषयमा छलफल भइरहेका बेला किराँती समूहको अनुपस्थितिलाई चासोका साथ हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *