रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला, महाशाखाले भन्यो– ‘विश्वसनीय आधार छैन’

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

काठमाडौं — रसुवा र नुवाकोटमा पुनः ठूलो बाढी आउन लागेको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको सूचनाप्रति बाढी पूर्वानुमान महाशाखाले ध्यानाकर्षण गराएको छ। महाशाखाले त्यस्तो बाढी आउनेबारे हालसम्म कुनै आधिकारिक आधार नरहेको स्पष्ट पारेको छ।

महाशाखाका अनुसार प्राप्त पछिल्ला विवरण र प्रारम्भिक मौसम तथा जलप्रवाह विश्लेषण गर्दा तत्काल थप ठूलो तथा विनाशकारी बाढी आउने सम्भावना देखिएको छैन।

यद्यपि, सम्बन्धित क्षेत्रमा वर्षा भइरहेकाले नदी तथा खोलाको बहावमा केही वृद्धि हुन सक्ने बताइएको छ। तर यसलाई आधार बनाएर ठूलो बाढी आउन लागेको भन्दै फैलाइएका अपुष्ट सूचनामा विश्वास नगर्न महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाले सम्भावित जोखिमको निरन्तर निगरानी भइरहेको जनाएको छ। नेपालतर्फ ठूलो बाढी प्रवेश गर्न सक्ने अवस्था देखिएमा सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी तत्काल सूचना सार्वजनिक गरिने बताइएको छ।

त्यस्तो आपत्कालीन अवस्था उत्पन्न भएमा एसएमएससहित उपलब्ध सञ्चार माध्यममार्फत सर्वसाधारणलाई समयमै पूर्वसूचना दिने व्यवस्था रहेको महाशाखाले जनाएको छ।

बाढीसम्बन्धी सूचना पाउँदा सामाजिक सञ्जालमा फैलिएका हल्लाभन्दा आधिकारिक निकायबाट जारी सूचनालाई प्राथमिकता दिन र सम्भावित जोखिमप्रति आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *