काठमाडौं– देशभर मनसुन सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी कोशी, बागमती, मधेस र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार दिनभर अधिकांश क्षेत्रमा बदली रहनेछ भने पहाडी, तराई तथा हिमाली भूभागका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। केही हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
निरन्तर वर्षाका कारण बाढी, पहिरो, डुबान, भू–क्षय र गेग्रान बहावको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। यसले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य सेवा र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्