सांसद जितेर पनि महावीरले फेरि किताब बेच्न थालेपछि विवाद

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २५

काठमाण्डौँ । म्याग्दीबाट स्वतन्त्र निर्वाचित पूर्व शिक्षामन्त्री महावीर पुन पोखरामा किताब बेचिरहेका छन् । पोखराको पृथ्वीचोक, महेन्द्रपुल लगायत ठाउँमा महावीरले आफ्नो किताब बेचेका हुन् ।

म्याग्दीबाट लोकप्रिय मतका साथ चुनाव जितेका पूर्वशिक्षामन्त्री पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागिरहेकको छ ।

पुनले कारखाना चलाउने भन्दै जेनजी आन्दोलन अघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेचेका थिए ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानान्यायाधिश सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षामन्त्री बिने । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र चुनाव लडेका महावीरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको थियो । महावीरले म्याग्दीबाट लोकप्रिय मतका साथ जितेका थिए ।

पुनले २२ हजार ८५० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१० मत ल्याएका थिए । नेपाली कांग्रेसका कर्णबहादर भण्डारीले ६ हजार ६७६ मत ल्याएका थिए ।

चुनाव जितेर पोखरामा किताब बेचिरहेका महावीरको एक व्यक्तिसँग विवाद भइरहेको एउटा भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । हस्ताक्षर गर्दै किताब बेचिरहेका महावीरलाई जनताले जिताएको किताब बेच्न हो भनेर ती व्यक्तिले प्रश्न गरेका छन् ।

जनताले प्रत्यक्ष मत दिएर जिताएको मान्छेको काम किताब बेच्ने नभएको बताउँदै ती व्यक्ति र महावीरबीच विवाद बढेको देखिन्छ ।

‘तपाईंको काम यो होइन । कारखाना चलाउने मान्छे सांसद किन भएको त ? जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले किताब बेच्ने हो ?’ महावीरलाई उनले प्रश्न सोधेका छन्, ‘तपाईंको काम यो होइन, जनताले कुन म्यान्डेड दिएका छन्, त्यही गर्नु न ।’

जनताले कारखाना चलाउन म्यान्डेड दिएको महावीरले जवाफ फर्काए । उनलाई फेरि ती व्यक्तिले प्रश्न गर्छन्, ‘कारखाना चलाउने मान्छे किन सांसद उठेको त ?’

पृथ्वीचोकमा महावीरसँग नोकझोंक चलेको देखिन्छ । धकेलिएको भन्दै केहीबेर भनाभन भएको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *