काठमाण्डौँ । कर्णालीमा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम तयारी पूरा भएको छ । कर्णाली प्रदेशमा ९ सय ४१ मतदानस्थलका १ हजार ४ सय ३७ मतदान केन्द्रमा मतपेटिका, मतपत्र र सुरक्षाकर्मीसहित कर्मचारी खटिएका छन् ।
कर्णालीका दुर्गम हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री र कर्मचारीहरू पुर्याइसकिएको छ। हुम्लाका ८, डोल्पाका २० र मुगुका ३ मतदान केन्द्रमा सामग्री र कर्मचारीहरूलाई हेलिकप्टरबाट पठाइएको छ। भोलि हुने मतदानका लागि मतदान स्थल र केन्द्रहरूमा पुगेका कर्मचारीहरूले सहजताका लागि राजनीतिक दलहरुसँग सर्वदलीय बैठक गरी सहमति समेत गरिसकेका छन् ।
यसै गरी कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतका दुई निर्वाचन क्षेत्रमा निर्वाचन प्रहरीसहित नेपाल प्रहरी १ हजार ८२८ , सशस्त्र ७ सय ५१ र निजामती कर्मचारी १ हजार ८ सय १८ जना खटिएका छन् । अबेर राति १ बजेसम्म सबै मतपेटिका संकलन गरिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णालीमा १० लाख ३५ हजार २ सय ५० मतदाता छन्, जसमा महिला ५ लाख ९ हजार ३६१ र पुरूषमा ५ लाख २७ हजार ८८६ मतदाता रहेका छन् ।
मतदानका दिन अपांगता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकलाई केन्द्रसम्म ल्याउने साधन र मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने सम्बन्धमा स्थानीय राजनीतिक दलसँग छलफल गरी सहमति समेत गरिसकेका छन् । यसपटकको निर्वाचनमा नेपाली सेनाले मतपेटिका गणनास्थलसम्म पुर्याउने जिम्मा लिएको छ ।
हिमाली जिल्ला र पहाडी जिल्लाका केही मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट गणना स्थलसम्म ओसार्ने तयारी भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेशमा मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। मतगणना स्थलमा तारजाली लगाइएको छ ।
तारजाली बाहिर राजनीतिक दलका प्रतिनिधि रहने छन् भने भित्र मुख्य निर्वाचन अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी रहनेछन् । केन्द्रहरूमा मतदाताहरूलाई मतदान गर्न सहज बनाउन वृद्धवृद्धा,अपांगतामैत्री बनाइएको छ ।
मतदाता क्रम संख्याका आधारमा मतदाताहरू लाइन बस्ने व्यवस्थापन गरिएको छ। बिहीबार बिहान ७ बजेबाट सबै मतदान केन्द्रहरूमा मतदान गर्न सुरु गरिने छ । कर्णालीमा १२ निर्वाचन क्षेत्रमा १२ जना जनप्रतिनिधि मतदानमार्फत चुनिनेछन्, जसमा १ सय ३८ जना चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा सुरक्षाकर्मी कर्माचारीहरू सबै आआफ्नो निर्वाचन क्षेत्रमा खटिएका सुर्खेतका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले बताए। मतदान सम्पन्न भएलगत्तै मत पेटिका निर्वाचनस्थल पुर्याइने उनले बताए । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सिटीहल मेहलकुना र २ को मतगणना वीरेन्द्रनगरको सिटी हलमा गणना हुने जानकारी दिएका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्