दार्चुलामा निर्वाचनको सबै तयारी पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दार्चुलाको मतगणना स्ठल पनि तयार पारिएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको लागि महेन्द्र नमुना मावि खलंगाको विद्यालयमा व्यवस्था मिलाइएको छ ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार मतगणनालाई व्यवस्थित र पारदर्शी बनाइएको छ । तारजाली लगाइएको ठाउँमा सिसीटिभीमार्फत निगरानी हुने ठाउँमा मतगणना हुनेछ ।

उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्ने गरी व्यवस्थापन मिलाइएको उनले बताए । प्रत्यक्षतर्फको मतगणनापछि समानुपातिक मतगणना गर्ने तयारी छ ।

जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । जसमा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष मतदाता छन् । जिल्लामा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लाभरि ११२ मतदान स्थल र १४३ मतदान केन्द्र छन् भने दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागारमा रहेका बन्दीका लागि कारागारमै मतदान केन्द्र तोकिएको छ । यस मतदान केन्द्रमा २३ जना मतदाता र ७ जना कर्मचारी गरी ३० जना मतदाता छन् ।

यस्तै समानुपातिक मतदानको लागि घरेलु तथा साना उद्योग कार्यालयमा मतदान केन्द्र तोकिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा २२ मतदानस्थललाई अति संवेदनशील, ४१ संवेदनशील सूचीमा राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *