धनगढी । कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा तीन दिने “निःशुल्क जलन उपचार शिविर” सम्पन्न भएको छ। फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरूले निःशुल्क उपचार पाएका छन्।
शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरूले शल्यक्रिया गरेका थिए भने जटिल प्रकृतिका १८ जना बिरामीलाई काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ।
नबिल बैंक, सुष्मा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा सञ्चालित उक्त शिविरमा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट बिरामीहरू उपचारका लागि आएका थिए। लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका तथा विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले शिविरमार्फत निःशुल्क सेवा पाएका थिए।
शिविरमा आएकी दुर्गा पाण्डेले आफूले राम्रो सेवा पाएको बताइन्। उनले पाँच वर्षीया छोरीको घाँटीको शल्यक्रिया गराइन्। दुई वर्षअघि तातो तेलले पोलेर घाँटीमा समस्या भएको थियो। “विशेषज्ञ डाक्टरद्वारा तेलले जलेको घाउको सफलतापूर्वक शल्यक्रिया भयो। यस्तो सुविधा पाउँदा म आयोजकलाई धन्यवाद दिन चाहन्छु,” उनले भनिन्।
सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनिको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। “जटिल प्रकृतिका बिरामी जसलाई सघन उपचार आवश्यक थियो, हामीले उहाँहरूलाई काठमाडौंस्थित हाम्रो अस्पतालमा रिफर गरेका छौँ,” प्रा. डा. लोहनिले जानकारी दिए।
नेपालमा जलनसम्बन्धी समस्या गम्भीर रहेको उल्लेख गर्दै प्रा. डा. लोहनिले पीडितले समयमा उपचार नपाउने, धामी–झाँक्री कहाँ देखाउने जस्ता कारणले घाउ अझै बिग्रने र थप समस्या आउने बताए। शिविरले मानिसहरूलाई उचित उपचारबारे सचेत गराएको र भविष्यमा यस्ता कार्यक्रमले विपन्न वर्गलाई अझ लाभान्वित गर्ने विश्वास व्यक्त गरे।
आगो ताप्ने क्रममा दुवै हात जलेका ४२ वर्षीय भारत लुहारलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। समयमै उपचार नपाएर घाउमा किरा लागेपछि चिन्तित बनेका उनी सहयोग माग्दै शिविरमा आएका थिए। “शिविरमा वरिष्ठ चिकित्सकबाट मेरो घाउको उपचार भयो र अब म थप उपचारका लागि काठमाडौं जाँदैछु,” उनले बताए।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना गरेको उक्त शिविरमा ३५ पुरुष र ३० महिला गरी ६५ जना सहभागी थिए।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोजकुमार ज्ञवालीले नेपालमा अझै पनि धेरै जलन पीडितले उचित उपचार नपाइरहेको अवस्थामा पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रलाई लक्षित गरी शिविर आयोजना गरिएको बताए। “शिविरमार्फत पीडितहरूले उपचार पाएका छन्,” उनले भने।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले यस्ता जलन शिविरले अत्यावश्यक उपचार उपलब्ध गराई राहत पुगेको बताए। उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको उल्लेख गरे।
शिविरसँगै सेती प्रादेशिक अस्पतालमा आधारभूत जलन उपचार तालिम पनि सञ्चालन गरिएको थियो। सुष्मा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. राजु भण्डारीद्वारा अस्पतालका डाक्टर, नर्स, प्रशासनिक प्रमुख र सर्जनलगायत करिब ५० जनालाई तालिम प्रदान गरिएको थियो। उनका अनुसार शल्यक्रियापछि फलोअपमा आउने बिरामीहरूको उपचार प्रभावकारी बनाउन डाक्टर तथा नर्सहरूको सीप विकासका लागि तालिम आयोजना गरिएको हो।
नबिल बैंक लिमिटेड नेपालका अग्रणी वाणिज्य बैंकमध्ये एक हो। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक उद्यमशीलता, विकास र रोजगारी सिर्जनामार्फत दिगो विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्