काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२४ माघ) का लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछाको मूल्यमा वस्तुअनुसार फरक–फरक दर कायम गरिएको छ।
आजको मूल्यसूची अनुसार गोलभेँडाको मूल्य प्रतिकिलो ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म तोकिएको छ। आलु रातो ३० रुपैयाँ र भारतीय आलु २७ रुपैयाँ प्रतिकिलो कायम भएको छ भने सुकेको भारतीय प्याज प्रतिकिलो ४० रुपैयाँमा कारोबार हुने भएको छ।
त्यस्तै, गाजर, बन्दा, काउली, मूला र भन्टाजस्ता तरकारीको मूल्य पनि स्रोत र उत्पादन क्षेत्रअनुसार फरक राखिएको छ। स्थानीय काउली ४५ रुपैयाँमा पाइने हुँदा ज्यापू काउली भने ७० रुपैयाँ प्रतिकिलो पुगेको छ।
हरियो तरकारीतर्फ घिउ सिमी, मटरकोसा, करेला, लौका, फर्सी, भिन्डी र स्कुसको मूल्य उल्लेख्य देखिएको छ। विशेषगरी तिते करेला प्रतिकिलो २२० रुपैयाँ र भिन्डी १२० रुपैयाँ तोकिएको छ।
सागसब्जीमा रायोसाग, तोरीसाग, पालुङ्गो, चमसुर तथा मेथीजस्ता सागको मूल्य २५ रुपैयाँदेखि ६० रुपैयाँ प्रतिकिलोसम्म निर्धारण गरिएको छ। च्याउको मूल्यमा भने ठूलो अन्तर देखिन्छ, जहाँ कन्य च्याउ १०० रुपैयाँ हुँदा डल्ले च्याउ ३४० रुपैयाँ प्रतिकिलो पुगेको छ।
फलफूलतर्फ स्याउ, केरा, कागती, अनार, अङ्गुर, सुन्तला, तरबुजा, जुनार, मेवा, स्ट्रबेरी, किबी र एभोकाडोको मूल्य तोकिएको छ। स्ट्रबेरी प्रतिकिलो ५५० रुपैयाँ र एभोकाडो ३५० रुपैयाँमा बिक्री हुने समितिले जनाएको छ।
यसैगरी, मसला तथा अन्य सामग्रीमा अदुवा १२०, सुकेको खुर्सानी ४२०, अकबरे खुर्सानी ५५०, लसुन २२० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ भने ताजा रहु माछा ३४० रुपैयाँ प्रतिकिलोमा पाइनेछ।
समितिले सार्वजनिक गरेको यो मूल्यसूची थोक बजारका लागि लागू हुने जनाएको छ, खुद्रा बजारमा भने मूल्य फरक पर्न सक्नेछ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्