बसको ठक्करबाट ९ जनाको मृत्यु, ४ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

चेन्नई ।  भारतको तमिलनाडु राज्य अन्तर्गत कडलूर जिल्लामा बुधबार राति भएको एक गम्भीर सडक दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन्। तिरुचिरापल्लीबाट चेन्नईतर्फ गइरहेको सरकारी रोडवेज बसको टायर अचानक पड्किएपछि बस अनियन्त्रित भएको थियो।

अनियन्त्रित बस सडकको डिभाइडर पार गर्दै विपरीत दिशाबाट आउँदै गरेका दुईवटा कारमा ठोक्किएको थियो। दुर्घटनामा परेका दुवै कार पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले तत्काल उद्धार कार्य सुरु गरेका थिए। घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप २ जनाले अस्पतालमा ज्यान गुमाएका हुन्। मृतकहरूमध्ये ५ पुरुष र ४ महिला रहेका छन्। साथै, दुई बालबालिकासहित ४ जना गम्भीर घाइते भएका छन्, जसको सरकारी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका कारण चेन्नई–तिरुची राष्ट्रिय राजमार्गमा केही समय सवारी आवागमन अवरुद्ध भएको थियो। करिब दुई घण्टापछि क्रेनको सहायताले दुर्घटनाग्रस्त सवारी साधन हटाइएपछि सडक पुनः सञ्चालनमा आएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस घटनाप्रति तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, मुख्यमन्त्री राहत कोषबाट मृतकका परिवारलाई जनही ३ लाख भारतीय रुपैयाँ र घाइतेलाई १ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *