समाजवादी मोर्चाबाट अलग भएको विप्लवको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । उनले बुधबार एक वक्तव्य जारी गरेर चार दलीय समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् ।

जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको विप्लवको निष्कर्ष छ । ‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ,’ वक्तव्यमा भनिएको छ, ‘सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ ।’

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा गरी चार पार्टी सहभागी भएर २०८० सालमा समाजवादी मोर्चाको निर्माण भएको थियो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले पार्टी एकता घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपाबाट अलग भएको चिरन सी नेतृत्वको समूह पनि एकता प्रक्रियामा सहभागी छ ।

मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरू गरे पनि समयको मागअनुसार रफ्तारमा कामहरू अघि बढाउन सम्भव नभएको विप्लवको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *