काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आज पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार देशका अधिकांश स्थानमा मौसम सफा रहने भए पनि कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।
हालै बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ का कारण देशका विभिन्न भागमा वर्षा र हिमपात भएको थियो। हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका–९ तिलिचो आधार शिविरमा फसेका १३ जना आन्तरिक तथा विदेशी पर्यटकलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार टोलीले सुरक्षित उद्धार गरेको थियो।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमध्ये १८५ वटा केन्द्रले उल्लेख्य वर्षा मापन गरेका छन्। तीमध्ये लमजुङको बेंसीशहर केन्द्रमा सबैभन्दा बढी ७१ दशमलव १ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्