१२ वर्षपछिको ठूलो गिरावट, सुनको भाउ ६.३% ले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ६

काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यमा करिब १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ। लगातार बढ्दै रेकर्ड तोड्ने क्रममा पुगेको सुनको मूल्य तिहारको बीचमा आएर अचानक ६ प्रतिशतभन्दा बढी घटेको हो।

‘द फाइनान्सियल टाइम्स’का अनुसार सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ अमेरिकी डलरसम्म पुगेको थियो। तर मंगलबार ६.३ प्रतिशतले घटेर ४,०८२ डलरमा झरेको छ। यो सन् २०१३ अप्रिलपछि एकैदिनमा देखिएको सबैभन्दा ठूलो गिरावट हो।

विश्लेषकहरूले यसलाई “ढिलो आएको तर आवश्यक सुधार” भनेर व्याख्या गरेका छन्। एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सका अनुसार अत्यधिक खरिदका कारण सुनको मूल्य ‘पाउरोटीझैं फुलेको’ थियो र अहिलेको गिरावटले मूल्य वृद्धि अन्त्यतिर पुगेको संकेत दिन सक्छ।

यो वर्ष सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको थियो। दुई महिनामै करिब २५ प्रतिशत बढेको मूल्य पछिल्ला साताहरूमा झन् तीव्र रूपमा उकालो लागेको थियो। “छ सातामै १,००० डलरको वृद्धि हुनु नै मूल्य कति माथि पुगेको थियो भन्ने देखाउँछ,” शिल्सले भनिन्।

मंगलबार चाँदी र प्लेटिनमको मूल्य पनि क्रमशः ७.४ प्रतिशत र ५ प्रतिशतले घटेको रिपोर्ट गरिएको छ।

विश्लेषकहरूले पछिल्ला कारणहरूमा सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोरी र व्यापार तनावका कारण सुनमा सुरक्षित लगानी बढ्नु प्रमुख कारण रहेको बताएका छन्। विश्वका केन्द्रीय बैंकहरूले पनि डलरको विकल्पका रूपमा सुन किनेर भण्डारण बढाएका थिए।

तर हाल अमेरिका–चीन व्यापार तनाव घट्ने संकेत र अमेरिकी डलर पुनः सुदृढ बन्दै गएपछि सुनको माग घटेको देखिन्छ।

स्ट्यान्डर्ड चार्टर्डकी विश्लेषक सुकी कूपरले यसलाई ‘प्राविधिक सुधार’ बताउँदै दीर्घकालमा भने सुनको मूल्य पुनः वृद्धि हुन सक्ने सम्भावना रहेको टिप्पणी गरेकी छन्।

उनका शब्दमा, “पछिल्ला दुई महिनामा सुनमा लगानी गर्ने मानिसहरूको संख्या तीव्र रूपमा बढेको छ। अहिले उनीहरूको उत्साह र सहनशीलता कति बलियो छ भन्ने परीक्षणको समय आएको छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *