गुडिरहेको यात्रुवाहक बसमा आगलागी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

काठमाडौंबाट चन्द्रपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७:२० बजे अचानक आगो लागेको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार बसको ब्रेक जाम भई ब्याट्रीको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

ब्रेक जाम भएपछि बस एक्कासी रोकिन पुगेको थियो। यद्यपि, चालक तथा सहचालकको सतर्कताका कारण सबै यात्रुहरू समयमै बाहिर निस्कन सफल भए, जसले गर्दा कुनै मानवीय क्षति भने हुन पाएन।

घटनालगत्तै प्रहरी र स्थानीयवासीको सहयोगमा बारुण यन्त्र प्रयोग गरी आगो सवा ८ बजेतिर नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण पूर्व–पश्चिम राजमार्ग केही समयका लागि अवरुद्ध भए पनि अहिले यातायात सामान्य भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *