केन्द्रीय सुरक्षा समितिको बैठक आज एजेन्डा के के?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौं— आसन्न निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। बैठक बिहान ७:३० बजेका लागि तय गरिएको हो।

गृह मन्त्रालयका अनुसार बैठकमा गृह तथा रक्षा सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख वा प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकको प्रमुख एजेन्डा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्नु रहेको छ। साथै, आवश्यक पृष्ठपोषण र नीतिगत निर्देशन पनि दिने तयारी छ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा गठित उक्त सुरक्षा समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सदस्यका रूपमा सहभागी छन् भने उपसचिव रविन्द्र अधिकारी सदस्य सचिव रहेका छन्।

समितिले तयार पारेको सुरक्षा योजना सबै जिल्लामा कार्यान्वयनका लागि पठाइनेछ। जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गठित जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले योजनाको कार्यान्वयनको जिम्मेवारी सम्हाल्नेछ।

सरकारले आसन्न निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकताको रूपमा लिँदै, सुरक्षा रणनीतिलाई तीव्रता दिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *