सोलुखुम्बु । चाडपर्व मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ ।
नेपालीहरुको महान चाड तिहार, र छठ पर्व लगायतका महत्वपूर्ण चाडपर्वहरू नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लाभित्र शान्ति सुरक्षा र अमनचयन कायम राख्न सबैलाइ आग्रह गरेको हो ।
प्रशासनले चाडपर्व मनाउँदा सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र परम्परागत मूल्यहरूलाई अझ प्रवद्र्धन गर्ने कार्यमा सबैलाई संलग्न हुन अनुरोध गरेको छ । साथै, जिल्ला भित्र शान्ति, सुरक्षा र अमनचयनलाई कायम राख्न सबै पक्ष सचेत रहनु पर्नेमा जोड दिएको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले तिहार पर्वमा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने जनाएको छ । एक सूचना जारी गर्दै कार्यालयले तिहारका अवसरमा देउसीभैलो कार्यक्रमहरू मर्यादित, शान्तिपूर्ण र सार्वजनिक यातायातमा अवरोध नहुने गरी सञ्चालन गर्न समेत आग्रह गरेको छ । त्यसैगरी, पटका, आतसबाजी, झरझरे भुँइचम्मा , जस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थहरूको बिक्री–वितरण, ढुवानी र प्रयोग नगर्न भन्दै सुरक्षाको दृष्टिकोणले यस्ता पदार्थको आयात तथा विक्रीमा रोक लगाइएको जनाइएको छ।
यसबाहेक, मादक पदार्थको सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झगडा गर्ने, अशान्ति फैलाउने जस्ता क्रियाकलाप नगर्न तथा नगराउन चेतावनी दिइएको छ।
प्रशासनले जुवातास, कौडा, लङ्गुरबुर्जा जस्ता कानुनविपरीतका क्रियाकलापहरू नगर्न र नगराउन सबैमा आग्रह गरेको छ। साथै, तिहारमा मैनबत्ती तथा बिजुलीको बत्ती प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउन समेत सुझाव दिएको छ ।
यसैबीच, कसैले तोकिएको नियम उल्लङ्घन गर्ने वा अवाञ्छित गतिविधि गर्ने खालका कार्यहरू गरेमा, प्रचलित कानुन अनुसार आवश्यक कारबाही गरिने समेत जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले स्पष्ट पारेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्