२१ असोज, काठमाडौं — हालैको भारी वर्षा र बाढीपहिरोबाट सिर्जित विपत्तिको सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक डाकिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा हालैका दिनमा बाढीपहिरोबाट भएको क्षति र राहत वितरणका विषयमा गम्भीर छलफल गरिनेछ।
बैठकका लागि ९ बुँदे एजेण्डा तय गरिएको छ, जसमा विशेषगरी पीडित परिवारलाई राहत वितरण, अवरुद्ध सडक तथा अत्यावश्यक सेवा सञ्चालन, महामारीको सम्भावित जोखिम व्यवस्थापन, अस्थायी आवास निर्माण लगायतका विषय समेटिएका छन्। साथै मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई कानुन बमोजिम राहत उपलब्ध गराउने विषयमा निर्णय लिने तयारी पनि बैठकको कार्यसूचीमा छ।
असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण आएको बाढी र पहिरोमा परी हालसम्म ६० जनाको ज्यान गएको पुष्टि भएको छ। सबैभन्दा बढी क्षति इलाम जिल्लामा भएको जनाइएको छ। बाढीपहिरोले बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा करोडौंको क्षति पुर्याएको छ।
बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, कृषि मन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई आमन्त्रण गरिएको छ। त्यस्तै, विज्ञ सदस्यका रूपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुनेछन्।
सरकारले विपद् व्यवस्थापनमा तत्कालीन राहत तथा दीर्घकालीन पुनर्निर्माणका कदमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्