साउन २४, काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका आफ्ना सेवाग्राहीलाई लक्षित गर्दै राजधानीमै विशेष एकीकृत सेवा शिविर सञ्चालन गरेको छ।
शिविर साउन २४, २५ र २६ गतेसम्म जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा सञ्चालन हुनेछ। तीन दिनसम्म सञ्चालन हुने यस शिविरमार्फत जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा नापीसम्बन्धी सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले जानकारी दिए।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार, हाल खिजीदेम्बा गाउँपालिकाबाट सेवा लिने थुप्रै नागरिक काठमाडौं उपत्यकामा स्थायी या अस्थायी रूपमा बसोबास गरिरहेका छन्। “सामान्य प्रशासनिक सेवा लिनकै लागि गाउँ आउजाउ गर्नु नागरिकहरूका लागि समय, पैसा र स्रोतको अपव्यय मात्र होइन, असक्त, ज्येष्ठ नागरिक र व्यस्त सेवाग्राहीहरूका लागि असम्भवजस्तै थियो,” उनले बताए।
“कतिपयले त यस्ता सेवाको अभावमा बाध्य भएर स्थायी रूपमा बसाइँ सराइ पनि गरेका छन्,” अध्यक्ष शेर्पाले भने, “त्यही समस्यालाई सम्बोधन गर्दै सेवा राजधानीसम्म ल्याउने निर्णय गरेका हौं, जसले आगामी दिनमा अनावश्यक बसाइँसराइ पनि न्यूनीकरण गर्न सक्छ।”
शिविरसँगै साउन २४ गते राजधानीमै सार्वजनिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न गरिएको छ। कार्यक्रममा गत आर्थिक वर्षको खर्च तथा उपलब्धिहरूको विस्तृत विवरण प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले प्रस्तुत गरेका थिए।
उनका अनुसार, यस्ता कार्यक्रमहरूले राजधानीमा बसोबास गरिरहेका नागरिकलाई पनि आफ्नो पालिकाको जानकारी, सेवा र जवाफदेहितामा सहभागी बनाउने अवसर प्रदान गर्छ।
स्थानीय सरकारको यस जनमुखी र दूरदर्शी कदमलाई राजधानीका सेवाग्राहीहरूले सकारात्मक रूपमा लिएका छन्। गाउँमै जानु नपरी बसोबासकै स्थानमा सेवा पाउनु, प्रशासनिक पहुँचको दृष्टिले एक नवीन अभ्यास मानिएको छ।
यस पहलले नजिकबाट सेवा दिन सकिने, अनावश्यक बसाइँसराइ रोक्न सकिने, सूचना तथा सेवा पहुँच विस्तार हुने र नागरिक–सरकार सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्