काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टान अझै भत्किने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने मन्त्रालयको आकलन छ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो।
सीसीटीभीका अनुसार दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीसम्बन्धी विपद्बाट उत्पन्न सम्पूर्ण जोखिमको निरन्तर मूल्याङ्कन गर्न चीनको जलस्रोत मन्त्रालयले परामर्श तथा अनुगमन जारी राखेको छ।
हालै गरिएको रिमोट सेन्सिङ तस्वीरको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको जलसतह क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिएको छैन। ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।
मंगलबार बिहान नेपाली समयअनुसार ५ः४५ बजे खिचिएको ड्रोन तस्वीरका आधारमा नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटरमा जम्मा भएको अधिकांश पानी बगेर निकास भइसकेको छ। क्रेटरभन्दा तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत सामान्य अवस्थामा रहेको जनाइएको छ।
तर, क्रेटर वरपर रहेका हिमनदी वा हिमखण्ड भत्किने जोखिम भने अझै कायम रहेको रिपोर्टमा उल्लेख छ। हिमचट्टान भत्किएर पुनः ठूलो मात्रामा पानी वा गेग्रान बग्न सक्ने सम्भावनाका कारण तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै निरन्तर निगरानी आवश्यक रहेको जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्