साउन २५, सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट काठमाडौँमा बसोबास गरिरहेका नागरिकका लागि सञ्चालन गरिएको दुई दिने एकीकृत सेवा शिविरबाट ७ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
गत साउन २३ र २४ गते काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सञ्चालन गरिएको सेवा शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सेवा, जन्म–मृत्यु दर्ता, बसाइँसराई प्रमाणपत्र, मालपोत, भूमिकर तथा सिफारिसजस्ता विविध प्रशासनिक सेवा प्रदान गरिएको थियो।
गाउँपालिका अध्यक्ष खिलराज बस्नेतका अनुसार, काठमाडौं उपत्यकामा बसोबास गर्ने सोताङबासीलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। अध्यक्ष बस्नेतले भने, “अब सेवा लिन गाउँसम्म फर्किनु नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो प्रयास हो।”
उनका अनुसार सेवा शिविरले राजधानीमा रहेका नागरिकहरूलाई प्रशासनिक कामकाज सजिलो बनाइदिएको छ, जसले गर्दा उनीहरूबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
सोताङ गाउँपालिकाले यस्ता शिविरहरूलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्