सोलुखुम्बु, जेठ २१ । महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट तथा योजना निर्माण कार्यतालिका स्वीकृत गरेको छ। गाउँपालिकाको कार्यपालिकाको जेठ २० गते बसेको बैठकले कार्यतालिका पारित गरेको ह
गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङका अनुसार बजेट निर्माण प्रक्रिया व्यवस्थित र प्रभावकारी बनाउन चरणबद्ध योजना तयार गरिएको छ। “समयमै बजेट निर्माण गरी विकास योजनालाई गति दिने उद्देश्यले हामीले कार्यतालिका स्वीकृत गरेका हौं,” अध्यक्ष कुलुङले बताए।
स्वीकृत कार्यतालिका अनुसार बजेटको प्रारम्भिक तयारी जेठ महिनाभित्र सम्पन्न हुनेछ भने गाउँसभा असार १० गते बोलाईनेछ, जहाँ बजेट प्रस्ताव पेश गरिनेछ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँसभामा बजेट प्रस्तुत गर्ने जिम्मेवारी उपाध्यक्षको हुनेछ।
महाकुलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङका अनुसार बजेट तथा योजना निर्माणका कार्यहरू राष्ट्रिय योजना आयोगको स्थानीय तह योजना तर्जुमा दिग्दर्शन अनुरूप सात चरणमा सम्पन्न गरिनेछ। “संविधान र कानुनी प्रावधानअनुसार पारदर्शी, समावेशी र आवश्यकता(आधारित योजना निर्माण प्रक्रियामा हामी अघि बढिरहेका छौं,” प्रमुख अधिकृत कुलुङले स्पष्ट पार्नुभयो।
गाउँपालिकाले जनताको सहभागिता र प्राथमिकता आधारित योजना समेट्ने तयारी गरिरहेको जनाएको छ, जसले स्थानीयस्तरमा दीगो विकास र सेवा प्रवाहमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्