सोलुखुम्बु साक्षर जिल्ला घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ असार २६

सोलुखुम्बुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्बजनिक शिक्षा प्रणालीको सबलिकरण भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० बर्ष उमेर समुहको ९६.७३ प्रतिशत नागरिक साक्षर भएपछि जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले पेस गरेको साक्षर जिल्ला घोषणाको प्रस्तावमा प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘शुरवीर’ले जिल्लालाई साक्षर घोषणा गरेका हुन् । सांसद राईले नितिगत कमजोरीका कारण नेपालमा गुणस्तरिय शिक्षामा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको बताए । प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले शिक्षित जिल्ला बनाउने जिम्मा शिक्षकको हातमा रहेको बताए ।

समन्वय प्रमुख तथा साक्षरता अभियान सोलुखुम्बुका संयोजक कृष्ण प्रसाद निरौलाले गुणस्तरिय शैक्षिक परिवर्तनका लागि राष्ट्रिय निति परिवर्तन हुनुपर्ने बताए । नेपाली कांग्रेसका जिल्ला सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले साक्षर जिल्लालाई निरन्तरता दिन सरोकारवालाहरु निरन्तर सक्रिय रहनुपर्ने आवश्यकता औँल्याए ।

सोताङ गाउपालिका अध्यक्ष खिलाराज बस्नेतले शैक्षिक निति कार्यान्वयनमा फितलोपन देखिएकोमा चिन्ता व्यक्त गरे । महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङले शिक्षामा लगानी गरेअनुसार अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए । नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले साक्षर जिल्ला घोषणालाई सार्थक तुल्याउन स्थानीय तहले निरन्तरको कार्यक्रम ल्याउनुपर्ने बताए । थुलुङ दुधकोशी गाउपालिका उपाध्यक्ष सबिता राईले गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला पक्ष गम्भिर बन्नुपर्ने बताइन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाले स्थानीय तहको प्रयासले मात्रै साक्षर जिल्ला घोषणा संम्भव भएको बताउदै यसलाई सार्थक तुल्याउन जनप्रतिनिधिले निरन्तर काम गर्नुपर्ने बताए । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ का सचिव दिर्घराज मैनालीले सोलुखुम्बु साक्षर जिल्ला घोषणासँगै प्रदेश नै साक्षर बनेको बताए ।
कार्यक्रमका अवसरमा सिकाइ केन्द्र, स्थानीय तह, गैरसरकारी संस्था रीड नेपाल, हिमालयन ट्रस्ट, योङ स्टार क्लबलाई सम्मानका साथ प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ, नेचासल्यान उपाध्यक्ष विना राई, प्रमुख जिल्ला अधिकारी अनिल खनाल, प्रहरी नायव उपरिक्षक सुनिल जङ्ग शाह, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख खगेन्द्र श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

65Shares

facebook sharing button
twitter sharing button
sms sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *