काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक नाघेपछि कोशी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ। नदीमा बढ्दो पानीलाई सहज रूपमा निकास दिन ब्यारेजका २४ वटा ढोका खोलिएका छन्।
पूर्वी पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेको हो। सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरेको मापनअनुसार ब्यारेजबाट प्रतिसेकेन्ड २ लाख ७ हजार ४३५ क्युसेक पानी बगिरहेको थियो।
बहाव बढेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको छ। मुख्य ५२ र नहरतर्फका ४ गरी ब्यारेजमा रहेका कुल ५६ ढोकामध्ये २४ वटा खोलिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले बताएका छन्।
जलसतह निरन्तर निगरानीमा राखिएको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सप्तकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकलाई सतर्क रहन र नदी किनारमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।
वर्षा नरोकिए नदीको बहाव थप बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्