काठमाडौं । सोमबार घटस्थापनासँगै दसैंको औपचारिक सुरुआत हुँदैछ। सोह्रश्राद्ध सकिएपछि आउने दसैंको पूर्वसन्ध्यामा देशभरको मौसम केही सुधारिएको देखिएको छ। अहिले मनसुन देशभर कमजोर बन्दै गएकाले कतिपय स्थानहरूमा घाम देखिएको छ भने कतै-कतै हल्का वर्षा भइरहेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार घटस्थापनादेखि फूलपातीसम्मको करिब एक सातासम्म मौसममा उल्लेख्य सक्रियता देखिने छैन। बिहानदेखि दिउँसोसम्म मौसम खुलेको भए पनि साँझपख र राततिर केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना भने छ।
तर, फूलपातीपछि भने मौसम फेरि सक्रिय हुने देखिएको छ। पोखरेलका अनुसार दसैंको मुख्य दिनहरू — अष्टमी, नवमी र टीकाको समयमा देशभर मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ, जसका कारण हिले दसैं पर्नसक्ने अनुमान गरिएको हो।
उनले विभिन्न मौसम मोडलको विश्लेषणका आधारमा यस्तो प्रक्षेपण गरेका हुन्। साथै, यस वर्ष मनसुन बाहिरिन अझै करिब दुई हप्ता लाग्ने पनि प्रारम्भिक आकलन गरिएको छ। गत वर्षको तुलनामा यसपटक मनसुन अलिक ढिलो बाहिरिने अनुमान गरिएको छ।
यसले गर्दा दसैंमा यात्राको योजना बनाउने, पारिवारिक भेटघाट तथा जमघट गर्नेहरूका लागि मौसमका कारण केही असहज परिस्थिति आउन सक्छ। यस्तै, चाडपर्वका बेला हुने कृषि गतिविधि तथा मेलामासमा समेत मौसमको असर पर्न सक्ने देखिन्छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्