रेश्मिका हत्या प्रकरणमा पक्राउ परेका तीन जनाले पाए सफाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

खोटाङ । रेश्मिका परियारको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत खोटाङले सफाइ दिएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिकाको हत्या आरोपमा पक्राउ परेका हेमन परियार, दिपक राई र दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीका दिपक श्रेष्ठलाई अदालतले सफाइ दिएको हो।

जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले असोज ५ गते तीनै जनालाई सफाइ दिएको जिल्ला अदालतका श्रेस्तेदार रामचन्द्र मण्डलले जानकारी दिए। उनका अनुसार घटनामा उनीहरू दोषी प्रमाणित नभएपछि सफाइ दिइएको हो।

रेश्मिका २०८२ भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबीच पर्ने मार्से सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत थिइन्।

यस घटनामा १५/१६ वर्षीय एक किशोर भने दोषी ठहर भइसकेका छन्। १८ वर्षभन्दा कम उमेर भएकाले उनको नाम गोप्य राखिएको छ।

पीडित परिवार तथा दलित अधिकारकर्मीहरूले भने रेश्मिकाको बलात्कारपछि हत्यामा ती किशोरसँगै अन्य तीन जनाको पनि संलग्नता रहेको दाबी गर्दै आएका छन्। उनीहरूले थप तीन जनालाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै उच्च अदालत ओखलढुंगामा किटानी जाहेरी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *