हाइप्रोफाइललाई धम्की दिने प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाईललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ । काभ्रे घर भएका पाठक विरुद्ध प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएको प्रहरीले जनाएको छ ।

भारत हुँदै इन्डोनेसिया पुगेका पाठक अहिले फिलिपिन्समा लुकेर बसेको आशङ्का गरिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका छन् । आफूलाई उग्रबादी संगठनको अध्यक्ष बताउने पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । उनले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । डिफ्युजन नोटिस जारी गरेपछि आरोपीको लोकेसन पत्ता लगाउन इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनले सहकार्य गर्छन् । मङ्सिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *