कार्तिक । पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा पैसा सापटी नदिएको निहुँमा एक वृद्ध महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–४ देउगीरका ७६ वर्षीया फुलमाया जिसीको हत्या ३७ वर्षीय मीन बहादुर विश्वकर्माले गरेका हुन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीका अनुसार सोमबार राति जुवा खेलेर हारेका विश्वकर्माले जिसी दम्पतीसँग पैसा सापटी मागेका थिए। तर, पैसा नपाएपछि रिसमा उनले नजिकैको हँसिया लिएर वृद्ध दम्पतीमाथि आक्रमण गरेका थिए।
हँसिया प्रहारबाट गम्भीर घाइते भएकी फुलमायाको घटनास्थलमै मृत्यु भयो भने उनका ८२ वर्षीय श्रीमान् प्रेम बहादुर जिसी गम्भीर घाइते छन्। घाइते जिसीलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका आरोपी विश्वकर्मालाई प्रहरीले राति नै आफ्नै घरबाट पक्राउ गरेको हो। हाल उनी प्रहरी नियन्त्रणमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्