काठमाण्डौँ । जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो ।
महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।
आइतबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे अघि सकिएको थियो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा शुक्रबारदेखि नै सुरु भएको भक्तजनको चहलपहल आज बिहानसम्म पनि कायम रहेको छ । राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म पनि भक्तजन लाइनमा बसेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो ।
विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति पनि लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उहाँले बताउनुभयो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।
यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि आइतबार रातिसम्म नै भक्तजनको भीड लागेको थियो । गोकर्णेश्वर मन्दिर क्षेत्रलाई पनि बिजुली बत्तीले झिलिमिली बनाइएको थियो । पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुने र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधनामा सहभागी हुनेले फल प्राप्तिका लागि बालयन्त्रको पूजा आाराधनामा पनि सहभागी हुनुपर्ने शास्त्रीय मान्यता भएकाले पनि पशुपतिनाथ आएका केही भक्तजन गोकर्णेश्वर आउने गर्छन् ।
यस्तै, पशुपति क्षेत्रस्थित साविकको गौचरणस्थित हालको त्रिभुवन विमानस्थलबाट गोठाटार क्षेत्रमा स्थानान्तरण गरिएको नागेश्वर महादेव मन्दिरमा पनि आइतबार बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको थियो । त्यो लाम आइतबार रातिसम्म उस्तै थियो । नागेश्वरमा छ जना ब्राह्मणद्वारा चारै प्रहर पूजाआराधना एवं रुद्राभिषेक गरिएको थियो । यो पूजा प्रत्येक वर्ष महाशिवरात्रिका अवसरमा हुने गर्छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्