धनगढी । दार्चुलाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आठ अभियुक्तलाई धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत दार्चुलाले पुर्पक्षका लागि कारागार चलान गरेका आठै जनालाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै नयाँ आदेश जारी गरेको हो ।
उच्च अदालतले आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
त्यस्तै, खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनही १ लाख ५० हजार रुपैयाँ तथा नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।
उच्च अदालतको आदेश शुक्रबार भएको हो । आदेशको औपचारिक पत्र भने जिल्ला कारागार दार्चुलामा अझै पुगिनसकेको कारागार प्रशासनले जनाएको छ ।
शुक्रबार फैसला भएकाले आदेशको पत्र पुग्न केही समय लाग्न सक्ने जिल्ला कारागारले जनाएको छ । पत्र प्राप्त भएपछि अदालतको आदेशअनुसार थुनामा रहेकाहरूलाई रिहा गर्ने प्रक्रिया अघि बढाइने जेलर उमेशसिंह बिष्टले जानकारी दिए ।
फेसबुकमा आठै जनाको नाम उल्लेख
सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
मृत्युअघि धामीले आफ्नो फेसबुकमा अहिले मुद्दा खेपिरहेका आठै जनाको नाम उल्लेख गर्दै आफूलाई आत्महत्या गर्न बाध्य पारिएको दाबी गरेको प्रहरीले जनाएको थियो ।
सोही आधारमा प्रहरीले आठै जनालाई पक्राउ गरी आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।
जिल्ला अदालत दार्चुलाले अनुसन्धानपछि उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध प्रतिवादीहरूले उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्