सोलुखुम्बु।माध्यमिक शिक्षा परीक्षा (SEE) नजिकिदैं गर्दा थुलुङ दुधकोशी गाउँपालिकाको एउटा विद्यालयले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई आबासिय प्रबन्धसहित अतिरिक्त कक्षा सुरु गरेको छ।
वडा नं-३ को पञ्चनमा रहेको कालिका देवी माध्यमिक विद्यालयले शैक्षिकसत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुने २६ छात्रछात्रालाई आवासीय प्रबन्ध सहितको अतिरिक्त कक्षा सुरु गरेको जनाएको हो।विद्यार्थीहरुको परीक्षा नतिजामा सुधार ल्याउने उद्देश्यले अभिभावकबाट न्यूनतम शुल्क संकलन गरी अतिरिक्त कक्षा प्रारम्भ गरिएको विद्यालयका प्रधानाध्यापक बिष्णु ढुंगेलले जानकारी दिए।
विद्यालय समयबाहेक ७ विषयलाई १/१ घण्टा(जम्मा ७ घण्टा) र २ घण्टा स्वअध्ययन गरि जम्मा ९ घण्टा(बिहान ४:४५ देखि ९:१५ सम्म र बेलुकी ४:३० देखि १० बजेसम्म)को अतिरिक्त पठनपाठनको प्रबन्ध गरिएको ढुंगेलको भनाई छ।
त्यसमा खाना, खाजा, रिफ्रेसमन्ट र मनोरञ्जनको लागि समेत समय छुट्याइएको छ उनले बताए।’अतिरिक्त कक्षामा हरेक गतिविधिको निगरानी शिक्षकहरूबाट हुने र बेलुकीका लागि १ महिला र १ पुरूष अभिभावकलाई पनि विद्यार्थीको साथमा पालो प्रणालीबाट अनिवार्य बस्नुपर्ने गरि व्यवस्था गरिएको छ’-प्रधानाध्यापक ढुंगेलले भने।
उनका अनुसार कक्षा सञ्चालनका लागि एक जना अभिबावकका लागि मासिक ६ हजार शुल्क तोकिएको छ।त्यसमा २५ सय खाना र खाजाको हो भने अतिरिक्त कक्षाबापत ३५ सय निर्धारण गरिएको छ ।एउटै परिवारका दुई जना परीक्षार्थी भए एक जनालाई नि:शुल्क र बिपन्न विद्यार्थीलाई खाना र खाजा बापतको शुल्क मात्रै लिने गरिएको उनले बताए।
अहिलेसम्म निजी विद्यालयले अभिभावकसंग चर्को असुल असुलेर यस किसिमको कक्षा सञ्चालन गर्ने गरेपनि सरकारी विद्यालयहरुको यसतर्फ ध्यान गएको बिरलै पाईन्छ।
कतिपय बिषयगत शिक्षक अभावकाका कारण विद्यार्थीले आवश्यक बिषयको ट्युसन समेत पढ्न कठिनाई भइरहेको सन्दर्भमा विद्यालयले सुरु गरेको यस किसिमको प्रयास अनुकरणीय रहेको गाउँपालिका अध्यक्ष असिम राईले टिप्पणी गरे।अध्यक्ष राईले राम्रो कामको सुरुवात गरेको भन्दै विद्यालय परिवारलाई धन्यवाद समेत दिएका छन् ।
सरकारी विद्यालयहरुको नतिजा खस्कंदै गइरहेका बेला सबै विद्यालयहरुले अब केहि नै केहि गर्नैपर्ने बाध्यता छ,-‘गाउँपालिका प्रबक्ता भोजराज कार्कीले भने-कालिका देवी माबिले सुरुवात गरेको यो कार्य अन्य विद्यालयहरुले पनि सञ्चालन गरे एसईई परीक्षाको नतिजामा पक्कै सुधार आउनेछ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया