×

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन

भदौ ८, २०७८ | दाक्सु मिडिया

काठमाडौं । भौतिकरुपमा परीक्षा लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरि कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटो भन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

। बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।

कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।

समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरुमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ।

समितिकी सभापति घर्तीले भनिन्, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो । छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्नु पर्‍यो । विद्यार्थीहरु खोप नलगाउने, छुटने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न। यस्ता विषयलाई पनि ख्याल गरेर यो सबै व्यवस्था मिलाएर छिटो भन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: