लुम्बिनीको शानदार पुनरागमन, काठमान्डुलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा लुम्बिनी लायन्सले उत्कृष्ट फॉर्म कायम राख्दै काठमान्डु गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। यसअघि भएका दुवै भेटमा काठमान्डुसँग पराजित भएको लुम्बिनीले यसपटक भने निर्णायक खेलमै बदला लिँदै काठमान्डुको उपाधि यात्रा अन्त्य गरिदियो।

बुधबार टस जितेर पहिले ब्याटिङ थालेको काठमान्डु लुम्बिनीको कडा बलिङका कारण १११ रनमै समेटियो। लक्ष्य सजिलै पछ्याउँदै लुम्बिनी विजय हासिल गर्न सफल भयो, जसले टोलीलाई लगातार चौथो जित पनि दिलायो।

शेर मल्लको प्रभावशाली प्रदर्शन

लुम्बिनीका स्पिनर शेर मल्ल फेरि पनि खेलका नायक बने। खेलको दोस्रो ओभरमै विकेट निकाल्दै दबाब सिर्जना गरेका उनले ३ विकेटको योगदानसहित ‘प्लेयर अफ द म्याच’ बने। ८ खेलमा १३ विकेट लिएका शेर यस संस्करणका शीर्ष विकेट लिने बलरमध्ये तेस्रो स्थानमा उक्लिएका छन्।
कप्तान रोहित पौडेलले शेर मल्लको निरन्तर प्रदर्शनले टोलीलाई धेरै सहयोग पु¥याइरहेको बताए।

लुम्बिनीको पुनरुत्थान

सुरुवातमा मिश्रित प्रदर्शन गर्दै ३ खेल लगातार हारेको लुम्बिनीले अन्तिम तीन खेलमा शानदार जीत दर्ता गराउँदै प्लेअफ स्थान सुरक्षित गरेको थियो। टिम कम्बिनेसन र विदेशी खेलाडीमा गरिएको परिवर्तनले पनि लुम्बिनीको प्रदर्शनमा सकारात्मक प्रभाव पारेको छ।

बलिङमा शेर मल्ललाई रुबेन ट्रम्पलमन र कप्तान पौडेलको साथ मिलिरहेको छ भने ब्याटिङमा पनि सन्तुलित योगदान देखिन थालेपछि लुम्बिनीको लय थप मजबुत बनेको छ।

अब लुम्बिनीले बिहीबार विराटनगर किङ्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

काठमान्डुको यात्रा समाप्त

पहिलोपटक प्लेअफ पुगेको काठमान्डुको अभियान भने इलिमिनेटरमै रोकिन पुग्यो। विदेशी खेलाडीमा बढी भर पर्ने रणनीति महँगो साबित भयो, किनकि महत्वपूर्ण खेलमा विदेशी तथा स्थानीय दुवै खेलाडीबाट अपेक्षित प्रदर्शन आएन। प्रशिक्षक मोन्टी देशाईका अनुसार १३०–१४० रनको स्कोर प्रतिस्पर्धात्मक हुने अनुमान गरे पनि कमजोर पावरप्ले र साझेदारी निर्माण नहुनुले टोली दबाबमा पर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *