
काठमाण्डौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले आफूले खेलेका ६ मध्ये २ खेलमा जित निकालेको छ भने लुम्बिनी ६ मध्ये ४ खेलमा विजयी भएको छ ।
बुधबार लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ५ विकेटको क्षतिमा ३१.१ ओभरमा पूरा गर्यो।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले नटआउट ४३ रन र कप्तान नारायण जोशीले नटआउट २५ रन बनाए । बलिङमा लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रनमै अलआउट भयो । लुम्बिनीका लागि कप्तान देव खनालले सबैभन्दा बढी ४१ रन र प्रज्वल थापाले ३० रन बनाउँदा अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए ।
बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए । प्लेयर अफ दि म्याच हेमन्तले ९ ओभरमा १ मेडन राख्दा २६ रन दिए । सूर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले २/२ विकेट लिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया