एनपिएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याइरहेको छ : कप्तान रोहित पौडेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ५

काठमाडौं — लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) नेपाली क्रिकेट खेलाडीको व्यावसायिक प्रगतिको प्रमुख प्लेटफर्म बन्दै गएको बताएका छन्। चितवन राइनोजमाथि शानदार जितसँगै सुरु भएको यात्राले टिमको आत्मविश्वास झनै उकासिएको उनले बताए।

पौडेलका अनुसार विदेशी र स्वदेशी खेलाडीबीचको समन्वयले परिणाममा प्रत्यक्ष प्रभाव पारेको छ। “विदेशी खेलाडीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरे। तयारी दुई–तीन महिनादेखि चलिरहेको थियो, त्यसैले तालमेल मिल्दा नतिजा राम्रो आएको हो,” उनले भने।

फ्लडलाइटमा खेल्ने सपना पूरा भएकोमा उनले विशेष खुसी व्यक्त गरे। “विदेशमा फ्लडलाइटमा खेल्दा सुरुमा समस्या आउँथ्यो। अब नेपालमै यस्तो सुविधा पाएपछि खेलाडीहरू झनै सहज हुन्छन्,” पौडेलको भनाइ छ।

उनले एनपिएलका विदेशी खेलाडी अनुभवका भण्डार भएको उल्लेख गर्दै नेपाली खेलाडीले उनीहरूबाट धेरै कुरा सिक्न सक्ने विश्वास व्यक्त गरे।

चितवन राइनोजका रवि बोपराले पनि नेपालमा फ्लडलाइट तथा मैदानको पूर्वाधार सुधारिएको देखेर प्रसन्नता व्यक्त गरे। बोपरा पहिले संस्करणमै राइनोजकै तर्फबाट खेलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *