काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) द्वारा मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको ट्रफी आइतबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय, हनुमानस्थानमा प्रदर्शन गरिएको छ। संस्थाले यस प्रतियोगिताको सह–प्रायोजकका रूपमा ट्रफी स्वागत गरेको हो।
कार्यक्रममा कम्पनीको सञ्चालक समिति सदस्य राजन कृष्ण श्रेष्ठले एनपीएल सफल हुने विश्वास व्यक्त गर्दै सह–प्रायोजक हुन पाउनु आफ्नो संस्थाका लागि गौरवको विषय भएको बताए। उनले भविष्यमा पनि खेलकुद क्षेत्रसँग अझ मजबुत रूपमा जोडिने प्रतिबद्धता व्यक्त गरे।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बहादुर बैदवार क्षेत्रीले एनपीएलले नेपाली खेलप्रेमीहरूमा जगाएको उत्साहले समग्र खेल क्षेत्रमा सकारात्मक प्रभाव उत्पन्न गरेको उल्लेख गरे।
ट्रफी स्वागत कार्यक्रममा कम्पनीका कर्मचारीहरूको उत्साहपूर्वक सहभागिता रहेको थियो। कार्यक्रम सम्पन्न भएपछि एनपीएल–२ को सफलताको शुभकामना व्यक्त गर्दै ट्रफीलाई कम्पनी परिसरबाट विदाई गरिएको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्