महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाण्डौँ । नवीन न्यौपाने महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनको कार्यकाल सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्म रहने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्समा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

त्यसैगरी भगवती खत्री र राजकुमार केसी सहायक प्रशिक्षक नियुक्त भएका छन् । टोली व्यवस्थापक बिन्द्रा देवान, फिजियोथेरापिस्ट शिला गिरी र किट व्यवस्थापक बिकाश गुरुङ भने आ–आफ्नो जिम्मेवारीमा निरन्तर रहनेछन् ।

यसअघि एएफसी एसियन कप छनोटका दौरान नयाँ प्रशिक्षक नियुक्त भएका प्याट्रिक डे वाइल्डले प्रतियोगिता लगत्तै प्रशिक्षकको जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकबिहीन थियो ।

नवीन न्यौपानेले भर्खरै भएको एएफसी यू-२३ एसियन कप छनोटमा नेपाली यू(२३ टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए ।

नेपाली महिला टोलीले आगामी महिना सिक्किममा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तय छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *