×

सन्न्यास लिएको एक वर्ष नपुग्दै राष्ट्रिय टोलीमा फर्किए सुनिल

फाल्गुन २३, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । भारतका पूर्वकप्तान तथा सर्वाधिक गोलकर्ता सुनिल क्षेत्री सन्न्यास लिएको एक वर्ष नपुग्दै राष्ट्रिय टोलीमा फर्किएका छन् ।

मुख्य प्रशिक्षक मानोलो मार्क्वेजले बिहीबार घोषणा गरेको २६ सदस्यीय टोलीमा ४० वर्षीय क्षेत्रीलाई समावेश गरिएको हो ।

भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि मार्च २५ मा जोहोरलाल नेहरू स्टेडियम, सिलङमा बंगलादेशविरुद्ध एएफसी एसियन कप साउदी अरेबिया २०२७ छनोटको अन्तिम चरणको पहिलो खेल खेल्नेछ । भारतको समूहमा हङकङ (चीन) र सिंगापुर पनि छन् ।

क्षेत्रीको पुनरागमनप्रति समर्थकहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् । १५० अन्तर्राष्ट्रिय खेल खेलिसकेका क्षेत्रीले ९४ गोल गर्दै अर्जुना, खेलरत्न तथा पद्मश्रीजस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेका छन् । उनी पुरुष फुटबलमा क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी र इरानका अली दाइपछि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।

क्षेत्री बेंगलुरु एफसीबाट भारतीय सुपर लिग ९आइएसएल० खेल्दै आएका थिए । उनको अन्तिम अन्तर्राष्ट्रिय खेल २०२४ को जुन ६ मा कोलकातास्थित साल्ट लेक स्टेडियममा कुवेतविरुद्ध फिफा विश्वकप छनोट खेलेका थिए ।

सन् २००२ मा मोहन बगानबाट आफ्नो व्यवसायिक यात्रा सुरू गरेका क्षेत्रीले भारतलाई २००७, २००९, २०१२ नेहरू कप तथा २०११, २०१५, २०२१, २०२३ का साफ च्याम्पियनसिप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् २००८ को एएफसी च्यालेन्ज कप जिताउँदै भारतलाई २७ वर्षपछि पहिलो पटक एएफसी एसियन कपमा छनोट गराएका थिए ।

उनले सन् २००५ मा पाकिस्तानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। सन् २०११ को साफ च्याम्पियनसिपमा ७ गोल गर्दै आइएम विजयनको रेकर्ड तोड्दै भारतको सर्वाधिक गोलकर्ता बनेका थिए ।

क्षेत्रीको पुनरागमनले युवा खेलाडीको अवसर रोकिएको भन्दै कतिपयले आलोचना गरेका छन् । प्रशिक्षक मार्क्वेजले एडमन्ड लालरिन्डिका, लालरिन्जुआला लालबियाक्निया तथा विशेषगरी २३ वर्षीय डेविड लाल्हलानसाङालाई टोलीमा स्थान नदिएकोमा प्रश्न उठाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: