साफ च्याम्पियनसिप: नेपाल भारतसँग १-० गोल अन्तरले पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २५

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका हुन्।

भारतका लागि सुनिलको यो ७७ औं गोल हो। नेपालविरुद्ध एकतर्फी खेल पस्किएको भारतले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो ।

पहिली हाफको ३३ औं मिनेटमा सुनिलले खाली पोस्टमा गर्न सकेनन् ।

नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।

यस्तै खेलको ५७ औं मिनेटमा भारतका मनबिर सिंहले गोलको अवसर गुमाए । सिंहको फ्रि हेडर नेपालका कप्तान तथा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे ।

नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन । यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ ।

भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।

नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ।  भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ।  अब बंगलादेशविरुद्ध बराबरी वा जित निकालेमा नेपाल फाइनल पुग्नेछ।

बंगलादेशलाई भने नेपालविरुद्ध जितको बिकल्प छैन । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ ।

शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। श्रीलंका भने बाहिरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *