काठमाडौं । १३औँ संस्करणको साफ च्याम्पियनसिप आगामी १ देखि १६ सम्म अक्टोबरमा माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदैछ । कोरोना महामारीले धकेलिएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सबैभन्दा ठुलो प्रतियोगिताको तयारी सहभागी टोलीले उत्साहको साथ गर्न पाएका छैनन् । कोरोनाकै कारण नियमित प्रतियोगिता समेत हुन पाएका छैनन् ।
नियमित लिग र राष्ट्रिय टिमको तयारी अभावमा हाल नेपाली राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय टोलीबीच दुई मैत्रिपूर्ण खेल हुन गइरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)काअनुसार यस मैत्रीपूर्ण आयोजनाका लागि भारत आफैले प्रस्ताव गरेको थियो । एन्फाले दुबै खेल दशरथ रंगशालामा गर्ने निर्णय गरेकाे छ चिरपरिचित नेपाल र भारतबीच भोलि (बिहीबार) पहिलो तथा आइतबार (२० भदौ )मा दोस्रो मैत्रीपूर्ण खेल हुनेछ । दुबै खेल एकै मैदानमा एकै समय (साँझ ५ः३०) मा हुनेछ ।
साफको तयारीका लागि खेल्न लागिएको यस प्रतियोगिताले भने फिफा वरियतामा निकै ठूलाे असर गर्नेछ । त्यसैले खेलअघि दुबै टोली होसियार छन् । यदि हारेको खण्डमा यस खेलले साफको लागि मात्रै हैन, आगामी एसिया कपको तेस्रो चरणको समूह तालिका सार्वजनिकमासमेत ठूलाे असर गर्नेछ ।
हाल फिफा वरियतामा भारत १०५ औं स्थानमा छ भने नेपाल १६८ औं स्थानमा छ । नेपालविरुद्ध खेल जित्दै भारत फिफा वरियतामा आफूभन्दा माथि रहेको प्यालेस्टाइन (१०२स्थान) माथि जान चाहन्छ ।
यता, नेपालसमेत भारतलाई पराजित गर्दै आफ्नो वरियता सुधार्दै भारतलाई तालिका सार्वजनिक अघि ‘पोट १’ पुग्न रोक्ने दाउमा छ । नेपालसमेत सहज समूहको खोजीमा छ । त्यसैले यो दुई मैत्रीपूर्ण खेल एक प्रतिष्ठाको लडाइँ, दोस्रो एएफसी कप तालिकामा राम्रो स्थान हात पार्ने र तेस्रो आगामी साफमा आफूलाई उपाधि दाबेदारी प्रस्तुत गर्न हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भारतविरुद्ध गोर्खाली खेल खेल्ने र उसलाई पराजित गर्ने टोलीको एउटै लक्ष्य हुने बताउँछन् ।
‘हामीले दुई महिनादेखि तयारी गरिरहेका छौं । भारतभन्दा पनि हाम्रो लागि साफ च्याम्पियनसिप महत्वपूर्ण छ । यो एक मैत्रीपूर्ण खेल मात्रै हो । हामी वीर गोर्खाली हौं । हाम्रो उद्देश्य जितमात्र हो’, प्रो लाइसेन्स प्राप्त कुवेती नागरिक अब्दुल्लाहले खेल अघि भने ।
यस्तै प्रशिक्षक अब्दुल्लाहले भारतसँग हारेपनि केहि फरक नपर्ने र यो साफ च्याम्पियनसिप नभएकाले हतोत्साही हुनु नपर्ने तर्क गरे । उनले नेपाली टोलीलाई देखेर नेपालीले गर्व गर्ने बनाउनु आफ्नो जिम्मेवारीसमेत रहेको बताए ।
‘हामी यो मात्र हैन, हरेक खेल जित्न चाहन्छौं । नेपाली टोलीलाई देखेर नेपालीले गर्व गर्ने बनाउनु मेरो जिम्मेवारी हो । हामी इतिहासको होइन, भविष्यको कुरा गर्छाै’ । यदि, भारतसँग हारेपनि केही फरक पर्दैन । यो साफ च्याम्पियनसिप होइन’, गत चैतमा पहिलोपटक नेपाल उत्रिएका प्रशिक्षक अब्दुल्लाहले भने ।
नेपाली टोलीका कप्तान किरणकुमार लिम्बुले भारतविरुद्ध नतिजा महत्वपूर्ण हुने बताउँदै साफ अगाडि आफ्नो टोलीको कमिकमजोर पत्ता लगाउने अवसर रहेको बताए ।
‘दुई महिनाभन्दा लामो तयारीले हामी राम्रो ‘सेप’मा छौं । घरेलु मैदानमा कोभिडको महामारीमा पनि भारतसँग मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो अवसर हो । ‘फिफा डेट’मा हुने भएकाले हामीलाई रिजल्ट महत्वपूर्ण छ । रिजल्टका लागि खेल्छौं । यो खेलबाट हामी कहाँ छौं ? हाम्रो कमजोरी र स्ट्रेन्ट पत्ता लगाउन यो खेल महत्वपूर्ण छ ’, नेपाल राष्ट्रिय टोलीमा सर्वाधिक ७३ क्यापको रेकर्ड बराबर नजिक रहेका किरणले बताए ।
यसअघि थ्री नेसन्स कपमा राष्ट्रिय टोलीबाट सन्यास लिएका कप्तान विराज महर्जनको नाममा सर्वाधिक ७३ क्यापको रेकर्ड रहेको छ । यदि भारतविरुद्ध दुबै खेल खेले किरण नेपाल राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाउने छन् ।
यस्तै कप्तान तथा गोलरक्षक किरणले भारत बलियो टोली रहेको र भारतविरुद्धको खेल एकदमै कठिन र महत्वपूर्ण हुने बताए । ‘भारतसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ । अहिलेसम्म खेलेको कुनै खेल सहज थिएन । अबका खेल एकदमै कठिन र महत्वपूर्ण छ ।’ थ्री नेसन्स कपबाट नियमित टोलीको कप्तानी गरिरहेका किरणले खेल अघि भने ।
यसैबीच नेपाल सरकारले नेपाल र भारतबीचको खेलका लागि रंगशालाको कुल क्षमताको ३३ प्रतिशत दर्शक प्रवेश दिने भएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाकाअनुसार खेलमा कोरोना खोप लगाएका र पिसिआर रिपोर्ट नेगेटिभ आउने मात्रै रंगशाला प्रवेश पाउनेछन् ।
हालसम्म नेपाल र भारतबीच १९ पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले दुई खेलमात्रै जितेको छ । चार खेल भने बराबरीमा समाप्त भएका छन् । भारतले ३३ गोल गर्दा नेपालले नाै गोल मात्रै गरेको छ ।
नेपाल र भारतले पहिलोपटक २० डिसेम्बर १९८५ मा एक अर्काविरुद्ध खेलेका थिए । जुन खेल गोेलविहीन थियो । त्यसको भोलिपल्ट पुनः भिड्दा भारतले खेल २–० गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।
दुई टोलीले अन्तिमपटक ६ जुन २०१७ मा खेलेका थिए । भारतको मुम्बई फुटबल एरिनामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । भारतका खेलाडी सन्देश झिन्गान र जे जे लाल पेख्लुयाले नेपालविरुद्ध गोल गरेका थिए । नेपालले अन्तिमपटक घरेलु मैदानमा भारतसँग १७ मार्च २०१५ मा खेलेको थियो । फिफा विश्वकप छनोटको लागि भएको खेल गोलरहित बराबरीमा समाप्त भएको थियो ।
नेपाल र भारतबीचको खेलमा सर्वाधिक गोलकर्ता भारतीय टोलीका हालका कप्तान सुनिल क्षेत्री रहेका छन् । उनले आठ खेल खेल्दै पाँच गोल गरेका छन् । यस्तै आईएम विजयन र कार्लटन चापम्यानले समान तीन गोल गरेका छन् ।
यता, भारतीय टोलीसमेत नेपालदेखि सजक रहनेछ । काठमाडाैँ उपत्यकाको मौसममा खासै घुलमिल हुन नपाएको भारतीय टाेली नेपाली युवा टोलीसँग सजक रहने देखिन्छ । भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले मौसमले साथ दिए राम्रो फुटबल खेल्न प्रयास गर्ने र यो खेल साफको लागि राम्रो तयारी हुने बताए ।
‘मौसम ठिक भयो भने राम्रो फुटबल खेल्ने प्रयास गर्नेछौं । हामी आफ्नो उत्कृष्ट दिनेछौं । साफ अगाडि यो खेल खेल्न पाउनु राम्रो कुरा हो’, भारतका लागि क्रोयशियन प्रशिक्षक स्टिम्याकले भने ।
यस्तै स्टिम्याकले नेपाली टोलीमा युवा खेलाडीलाई मौका दिएको र राम्रो फुटबल खेलिरहेको बताए । ‘नेपालले ‘प्रोग्रेस’ गरेको छ । राम्रो फुटबल खेल्न सक्छ भन्ने देखाएको छ । युवालाई मौका दिइरहेको छन् । त्यो राम्रो कुरा हो’, प्रशिक्षक स्टिम्याकले भने ।
यसअघि भारतीय टोलीले मैत्रीपूर्ण खेलको लागि कोलकत्तामा करिब तीन साता प्रशिक्षण गरेको थियो । युवा खेलाडी प्रशिक्षणमा सहभागी हुँदा अनुभवी तथा सिनियर खेलाडी भने एएफसी कप खेल्न माल्दिभ्समा रहेका थिए । नेपालसँग खेल्नु अघि भारतीय टोलीले कोलकत्तामा पूर्ण तयारी गर्न पाएको छैन । गत बुधबार नेपाल आएको टोलीमा सोमबारमात्रै एटिके मोहन बंगान र बैगरुलु एफसीका खेलाडी कोलकत्तामा सहभागी भएका थिए ।
भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न कठिन हुने बताए । ‘जहिल्यै पनि नेपालविरुद्ध कठिन हुन्छ’, ३७ बर्षिय नेपाली मुलका भारतीय कप्तान सुनिलले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया