काठमाडौँ । गत भदौ १० गते भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीले नुवाकोटका एक हजार आठ सयभन्दा बढी उद्योग तथा व्यवसायमा ठूलो क्षति पुर्याएको छ।
नुवाकोट उद्योग वाणिज्य संघका अनुसार बाढीबाट साना तथा ठूला गरी एक हजार आठ सयभन्दा बढी उद्योग–व्यवसाय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। विशेषगरी खोला किनारका व्यवसाय, क्रसर उद्योग तथा टिप्परलगायतका संरचना र साधनमा ठूलो क्षति पुगेको व्यवसायीहरूले बताएका छन्।
बाढीपीडित व्यवसायीहरूले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालन गरिएका व्यवसाय बाढीले ध्वस्त भएपछि ऋणको ब्याज मिनाहा तथा कम्तीमा तीन वर्षका लागि ऋण नवीकरणको व्यवस्था गर्न उनीहरूले आग्रह गरेका छन्।
त्यस्तै, बाढीमा बीमासम्बन्धी कागजातसमेत नष्ट भएकाले बीमा दाबीको रकम सहज र झन्झटरहित रूपमा भुक्तानी हुने व्यवस्था मिलाउन व्यवसायीहरूले माग गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले बाढी प्रभावित उद्योगी–व्यवसायीको आधारभूत आवश्यकता पूरा गर्नु पहिलो प्राथमिकता भएको बताए। उनले सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर उद्धार, राहत तथा पुनरुत्थानमा काम गर्नुपर्नेमा जोड दिँदै ऋण र बीमासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्