हुम्ला । ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालका अनुसार भदौ ७ गते राति करिब १ बजे भएको आगलागी घटनामा संलग्न भएको आशंकामा ताँजाकोट–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत करिब ४५ वर्षीय धनराज ढकाल पक्राउ परेका हुन्।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरिएको छ। आगलागीको वास्तविक कारण तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट जिन्सी शाखामा राखिएका चारवटा काठका र्याग, एउटा खाट, एउटा टेबल, एउटा सोलार ब्याट्रीसहित आर्थिक वर्ष २०७३/७४ देखि हालसम्मका विभिन्न कागजात जलेर नष्ट भएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्