×

अबैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

भदौ २२, २०७८ | दाक्सु मिडिया

काठमाडौं । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा म्याग्दी मंगला गाउँपालिका-३ ठेगाना भएका ३६ वर्षीय श्याम प्रसाद रोका र सोही ठाउँ ठेगाना भएका ३५ वर्षीय वीर बहादुर रोका मगर रहेका छन् ।

कतार एअरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरुलाई बिमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त चरेश फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध चरेस मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ५ सय ८५ नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सप्तरी रुपनी गाउँपालिका-६ बस्ने १९ वर्षीय शुरेश खङ्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५३१५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शुरेशले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङ, बेलबारी नगरपालिका-८ बलुही बस्ने ७४ वर्षीय भबिलाल सहनीलाई करिब ७ केजी ४ सय ४५ ग्राम अबैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्याल बिराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बङगला बस्ने २६ वर्षीय मोहन लाल कहार र सोही उपमहानगरपालिका-७ बस्ने २३ वर्षीय अबेस जोलाहलाई ९ ग्राम ५ सय मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईली बस्ने २८ वर्षीय कुबेर शाहीलाई १ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश लागूऔषध नियन्त्रण व्यूरो र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई साथमा रहेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-३ बिचपुरीस्थित हरेन्द्र चौधरीको खुद्रा पसलबाट करिब ५ सय ९८ ग्राम अबैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सोमबार राति प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट भाँसीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा कचौरा र पलाष्टिकमा पोका पारी राखेको अवस्थामा उक्त पदार्थ फेला पारी बरामद गरको हो । साथै सोही पसल पछाडि खैरो हेरोइन सेवन गरिरहेको अवस्थमा फेला पारी सोही ठाउँ बस्ने २५ वर्षीय करन चौधरी, २७ वर्षीय अजय चौधरी र २७ वर्षीय दिनेश कुँवरलाई २ सय मिलिग्राम खैरो हिरोइन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: