कांग्रेसभित्र महाधिवेशन विवाद चुलिँदा अनुशासन समिति बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १८

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति संघर्ष चुलिएका बेला केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।

निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापन पक्षले अनुशासन समिति बैठक बोलाएको हो ।

केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने तय भएको छ ।अनुशासन समिति सचिव दिनेश थापामगरले जारी गरेको सूचनामा समितिका सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ भदौ १८ गते बिहीबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएकोले समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने प्रयास गरेपछि त्यसबारे स्पष्टीकरण लिन अनुशासन समिति बैठक बोलाइएको स्रोतले जनाएको छ ।

कांग्रेसभित्र महाधिवेशनको मिति, प्रक्रिया र नेतृत्वको विषयलाई लिएर पछिल्लो समय संस्थापन र देउवा पक्षबीच मतभेद बढ्दै गएको छ । अनुशासन समितिको बैठकले देउवा पक्षको तयारी तथा महाधिवेशनसम्बन्धी गतिविधिबारे थप निर्णय लिन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *