बालाजुमा सवारी लाइसेन्स ट्रायल सुरु गर्ने तयारी, पूर्ण सेवातर्फ यातायात कार्यालय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, बालाजुले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गर्ने तयारी थालेको छ । हालसम्म ब्लु–बुक नवीकरण र कर संकलनमा सीमित रहेको कार्यालयलाई पूर्ण सेवासहित सञ्चालन गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो ।

कार्यालय प्रमुख चेतनाथ भट्टराईका अनुसार बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय र सम्बन्धित मन्त्रीको निर्देशनअनुसार बालाजु कार्यालयलाई लाइसेन्स सेवासहितको “फुल फेज” कार्यालयका रूपमा विकास गर्न लागिएको छ । सोही योजना अन्तर्गत ट्रायल सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधार र सवारी साधन उपलब्ध गराउन इच्छुक संस्थाबाट शिलबन्दी प्रस्ताव आह्वान गरिएको उनले जानकारी दिए ।

कार्यालयद्वारा जारी सूचनामा दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ठूला सवारी साधनको प्रयोगात्मक परीक्षाका लागि ट्रायल सेन्टर छनोट गरिने उल्लेख छ । वर्ग ‘क’ र ‘ट’ (मोटरसाइकल, स्कुटर, मोपेड), वर्ग ‘ख’ र ‘च’ (कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनिट्रक) तथा वर्ग ‘ग’ (ट्रक, बस, लरी) का लागि छुट्टाछुट्टै प्रस्ताव माग गरिएको हो ।

सूचनाअनुसार प्रस्तावित ट्रायल सेन्टर काठमाडौँको बालाजु चोकबाट ५ किलोमिटरको दुरीभित्र (चक्रपथभित्र वा बाहिर) हुनुपर्नेछ । एकैपटक कम्तीमा १०० जना परीक्षार्थी सहभागी हुन सक्ने लिखित परीक्षा हल, चमेना गृह तथा पार्किङ सुविधा अनिवार्य गरिएको छ । साथै दुई पाङ्ग्रे, चार पाङ्ग्रे र ठूला सवारीको ट्रायल एकै कम्पाउण्डबाट सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ट्रायलका लागि प्रयोग हुने साना सवारी साधन २०१९ साल वा सोपछिको मोडेलको हुनुपर्नेछ भने ठूला तथा मझौला सवारी साधन १० वर्षभन्दा पुराना हुन नपाइने मापदण्ड तोकिएको छ ।

यसैबीच, हाल सानोभर्याङमा सञ्चालन भइरहेको कार्यालयलाई चालु आर्थिक वर्षभित्रै बालाजु क्षेत्रमा स्थानान्तरण गर्ने तयारी पनि भइरहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार पहिले नै बालाजुमा कार्यालय स्थापना गर्ने निर्णय भए पनि बजेट अभावका कारण कार्यान्वयनमा आउन नसकेको प्रमुख भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *