यातायात व्यवस्था कार्यालय झापाले एघार महिनामा उठायो ८५ करोड बढी राजस्व

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ११

भद्रपुर : यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै रु छ करोड २४ लाख ४० हजार चार सय १७ राजस्व सङ्कलन गरेको जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु ६९ करोड ७७ लाख ८९ हजार सात सय ७९, प्रशासनिक सेवा शुल्कवापत रु एक करोेड ७९ लाख ९३ हजार एक सय ८३, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १६ लाख ८८ हजार एक सय ६७ राजस्व असुली गरेको छ ।

चालु आवको ११ महिनामा छ हजार सात सय १४ मोटरसाइकल दर्ता हुँदा एक हजार छ सय ३८ ई–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ । यहाँ हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको छ ।

चालु आवको ११ महिनाको अवधिमा नौ हजार पाँच सय ४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार एक सय १९ सवारी नवीकरण भएका लुइँटेलले बताउनुभयो । सोही अवधिमा १२ हजार तीन सय २२ नयाँ चालक अनुमतिपत्र, १६ हजार पाँच सय ४८ को नामसारी हुँदा १० हजार दुई सय ६३ सवारी जाँचपास भएका उनिले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *